मंगलबार, जेठ १९, २०८३

पुथाउत्तरगंगाका बुकीमा चौँरी फस्टाउँदै



पुथाउत्तरगङ्गा गाउँपालिका–१ र २ मा पालन गरिराखेको चौँरीहरू। तस्बिर सौजन्य : मिलन मगर ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ र २ मा चौँरी पालन फस्टाइ राखेको छ । दुई वर्ष अघि डोल्पाबाट चौँरी खरिद गरी ल्याइएको पुथाउत्तरगङ्गा–१ र २ का बुकी पाटनमा पालन सुरु गरिएको चौँरी फस्टाइ राखेका छन् ।

लुम्बिनी प्रदेश सरकारको आठ लाख र गाउँपालिकाको १० लाख गरी जम्मा १८ लाख रुपियाँमा २८ वटा चौँरी खरिद गरी ल्याइएको पुथाउत्तरगङ्गा–१ का वडाध्यक्ष बिरमान कामीले बताउनुभयो । किनेको दुई वर्षपछि हाल उक्त चौँरी ४३ वटा पुगिसकेको वडाध्यक्ष कामीले जानकारी दिनुभयो । दुई वर्षमै १५ वटा वृद्धि भएको कामीको भनाइ छ । यसले गर्दा पुथाउत्तरगङ्गा–१ र २ का बुकी पाटनमा चौँरी पालन फस्टाइ राखेको वडाध्यक्ष कामीको भनाइ छ ।

जिल्ला मात्र नभएर यस प्रदेशमै पहिलो पटक चौँरी पालन सुरु गरिएको छ । लुङजुङ, देउराली, सिङखोला, गुरुगाड, निकुङ, फूलबारी, पुपाल, पानीदाल, पूर्बाङ लगायत बुकी पाटन क्षेत्रमा चौँरी पालन गरिराखेको वडाध्यक्ष कामीले बताउनुभयो । चौँरीको रेखदेख १ र २ नम्बर वडाका दुई कृषक समूहले गरिराख्नु भएको छ । वडाध्यक्ष कामीले भन्नुभयो, “परीक्षणका लागि दुई वर्ष अघि चौँरी खरिद गरी पालन सुरु गरेका थियौँ । परीक्षण सफल भएको छ । अब चौँरी पालनलाई व्यवसायिक तर्फ लग्दैछौँ ।”
चौँरी बहुउपयोगी पशु पालन हुनुका साथै जहाँ त्यहीँ पालन नहुँने हुँदा यस जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग मिल्ने गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो ।

चौँरीबाट मासु उत्पादन, भारी बोक्ने, दूध बाक्लो हुने भएकोले धेरै घिउ पर्ने र ऊन उत्पादन हुने भएकोले चौँरी पालन बहुउपयोगी र बहुफाइदा रहेको गाउँपालिका अध्यक्ष घर्तीमगरको भनाइ छ । चौँरी पालन फस्टाइ राखेकोले अब यसबाट आर्थिक आर्जन गर्ने तर्फ योजना बनाइ राखेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

 

प्रकाशित मिति : २ कात्तिक २०८२ , आइतबार
प्रतिक्रिया