रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाका तीन सय ५० विपन्न घरधुरीलाई सोलार वितरण गरिराखिएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा पुथाउत्तरगङ्गाका तीन सय ५० विपन्न घरपरिवारलाई सोलार वितरण भइरहेको हो ।
विद्युतीकरण नहुँदा विपन्न घरपरिवार वर्षाै देखि अँध्यारोमा बस्न बाध्य भएको भन्दै लुम्बिनी प्रदेशको सहयोगमा निःशुल्क सोलार वितरण गरिराखिएको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिनुभयो । गाउँपालिकाका तीन सय ५० विपन्न घरपरिवारलाई प्रति घरधुरीलाई ६० वाट क्षमताको सोलार वितरण भइरहेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।
यस गाउँपालिकामा १४ वटा वडा रहेकोमा १३ नम्बर वडा बाहेक अन्य १३ वटै वडामा विपन्न घरपरिवारलाई सोलार वितरण गरिने उहाँको भनाइ छ । १३ नम्बर वडामा सबै घरधुरीमा स्थानीय उत्पादित विद्युत पुगिसकेको छ । हाल वडा–वडामा पुगि सोलार वितरण कार्य जारी रहेको बताइएको छ ।
विपन्न घरपरिवारको तथ्याङ्क सङ्कलन गर्दा चार सय ८२ घरधुरीको तथ्याङ्क सङ्कलन भएको थियो । यद्यपि प्रदेश सरकारले तीन सय ५० घरधुरीका लागि मात्र सोलार उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । हाल प्राथमिकताको आधारमा सोलार वितरण भइरहेको बताइएको छ ।
सोलार पाएपछि वर्षाै देखिको अँध्यारोबाट मुक्ति पाएको स्थानीयको भनाइ छ । पुथात्तरगङ्गा–११ सेराका रामकुमार बुढाले भन्नुभयो, “वर्षाै देखि टर्च र सल्लाको दियालो बालेर रात गुजारिरहेका थियौँ । सोलार पाएपछि आजभोलि घर झिलिमिली बनेको छ ।” उहाँका अनुसार वितरण गरिएका सोलारबाट चार वटा बल्ब बाल्न सकिराखेको छ ।
सोलार किन्ने रुपियाँ नहुँदा विपन्न घरपरिवार विगत देखि अँध्यारोमै बस्न बाध्य हुनुहुन्थ्यो । दुर्गमको गाउँका विपन्न घरपरिवारको घरमा सोलार बलेपछि उहाँहरूको दैनिकी सहज बनेको छ ।









