बिहीबार, वैशाख १०, २०८३

अखिल क्रान्तिकारी र वाइसिएल रुकुमपूर्वद्वारा सिडिओ मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र



अखिल क्रान्तिकारी र वाइसिएल रुकुमपूर्वद्वारा सिडिओ मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै । तस्बिरः दुबोपाती ।

नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) र योग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । आज बुधबार अखिल क्रान्तिकारी र वाइसिएल रुकुमपूर्वले प्रमुख जिल्ला अधिकारी सीता परियार मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन पश्चात समाजमा विभिन्न भ्रम फैलाइराखेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यसै क्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक सञ्जाल तथा विभिन्न मिडिया माध्यम मार्फत नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध घर जलाइँदा अघि दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो भन्ने झूठा, तथ्यहीनका आधारमा भ्रम फैलाउने गरी प्रचार गरेको प्रति संगठनले आपत्ति जनाएका छन् ।
ज्ञापनपत्रमा उल्लेख गरिएको छ “उक्त आरोप पूर्णरूपमा भ्रामक, तथ्यहीन र राजनीतिक प्रतिशोध राखेर गरिएको हामी स्पष्ट पार्दछौं । यस्ता आरोप लगाई जनतालाई भ्रमित पार्नु, पार्टी संगठन र नेतृत्वविरुद्ध चरित्रहत्या गर्नु तथा जनमत भड्काउने प्रयास गर्नु गम्भीर अपराधिक गतिविधि हो ।”

यसै सन्दर्भमा संयोजकको सचिवालयले असोज २७ गते नेपाल प्रहरीको सम्बन्धीत ब्युरोमा उजुरी दर्ता गरेको छ । उजुरीमा डिजिटल माध्यमबाट गरिएको गलत प्रचार–प्रसार साइबर अपराध अन्तर्गत पर्ने भएकाले सम्बन्धीत व्यक्ति माथि कानूनी अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । तर, यस्ता भ्रम फैलाउने माथि कारबाही गर्नुको सट्टा वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष लगयायत युवा–विद्यार्थीहरू माथी झूठा आरोप लगाई पक्राउ प्रयास गरिनु निन्दनीय र अन्यायपूर्ण भएको दुई संगठनले जनाएका छन् ।

साथै ज्ञापनपत्र मार्फत नेपाल प्रहरी समक्ष विभिन्न मागहरू राख्नु भएको छ । झूठा र तथ्यहीन प्रचार गर्ने व्यक्तिहरू माथि निष्पक्ष छानबिन गरी तुरुन्त कानूनी कारबाही गरियोस्, संगठन र नेतृत्व माथि राजनीतिक प्रतिशोधको नाममा कुनै पनि प्रकारको दमन प्रयास नगर्न सरकार र सम्बन्धीत निकायलाई चेतावनी समेत दिएका छन् । यसैगरी अन्यायपूर्ण गतिविधि तुरुन्त रोकिएन भने युवा–विद्यार्थी संगठन संयुक्तरूपमा आन्दोलन र प्रतिरोधका कार्यक्रमहरूमा उत्रिन बाध्य हुने र यसलाई तोडमोड गरी भ्रम सिर्जना गर्ने कुनै पनि प्रयास सह्य हुने छैन भन्ने कुरा ज्ञापनपत्र मार्फत जानकारी गरिएको छ ।

ज्ञापनपत्र जिल्ला प्रशासन मार्फत गृह मन्त्रालयमा पठाउने प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा अखिल क्रान्तिकारी रुकुमपूर्वका इञ्चार्ज विकास खड्का, अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइली र वाइसिएल रुकुमपूर्वका अध्यक्ष नामेन्द्र सुनार लगायत अखिल क्रान्तिकारी र वाइसिएलका पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ असोज २०८२ , बुधबार
प्रतिक्रिया