बिहीबार, वैशाख १०, २०८३

सडक दुर्घटना उद्धार र भिड तथा दङ्गा नियन्त्रण सम्बन्धी अभ्यास



सडक दुर्घटना उद्धार र भिड तथा दङ्गा नियन्त्रण सम्बन्धी अभ्यास गर्दै । तस्बिरः दुबोपाती

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको आयोजना सडक दुर्घटना हुँदा उद्धार र आन्दोलनको भिड तथा दङ्गा नियन्त्रण सम्बन्धी नमुना अभ्यास कार्यक्रम गरिएको छ । आज बुधबार सिस्ने गाउँपालिका–५ रुकुमकोटमा सडक दुर्घटना हुँदा उद्धार र आन्दोलनको भिड तथा दङ्गा नियन्त्रण सम्बन्धी नमुना अभ्यास कार्यक्रम गरिएको हो ।

नमुना अभ्यास कार्यक्रमको प्राविधिक सहयोग नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले गर्नु भएको थियो । सडक दुर्घटना हुँदा उद्धार सम्बन्धी नमुना अभ्यास र नागरिकले विभिन्न माग राख्दै आन्दोलन गर्दा भिड तथा दङ्गा नियन्त्रणको नमुना अभ्यास तीन वटै सुरक्षा निकायले गर्नु भएको हो ।

घटना तथा दुर्घटनाबाट हुने व्यक्तिको जनधन सुरक्षाका लागि सुरक्षाकर्मीको मुख्य भूमिका रहने गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । सुरक्षा निकायले गर्नु भएको नमुना अभ्यासले विभिन्न घटना र दुर्घटना हुँदा उद्धार र भिड नियन्त्रणमा सहयोग हुने प्रजिअ परियारले बताउनुभयो । सार्वजनिक सम्पत्ति तथा व्यक्तिको जनधन सुरक्षाका लागि यो दुई वटा नमुना अभ्यास कार्यक्रम गरिएको परियारको भनाइ छ ।

यसैगरी सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले विभिन्न आन्दोलन र घटना हुँदा कसरी जनधनको सुरक्षा गर्ने भन्ने विषयमा गरिएको नमुना अभ्यास अत्यन्त राम्रो कार्य भएको बताउनुभयो । सडकबाट गरिएको आन्दोलन र सडक दुर्घटनाबाट हुने क्षति कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यले गरिएको नमुना अभ्यास कार्यक्रमले उद्धार र नियन्त्रणमा ठूलो सहयोग मिल्ने अध्यक्ष रेग्मीले बताउनुभयो ।

समय–समयमा घट्ने गरेका घटनाबाट जनधनको सुरक्षाका लागि नमुना अभ्यास राम्रो प्रकारको रहेको जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । आन्दोलनकारीहरूको उत्तेजित व्यवहारलाई सुरक्षाकर्मीले कसरी नियन्त्रण गर्नु हुने रहेछ, भिडलाई कसरी शान्तिपूर्णमा ल्याउनु पर्दाे रहेछ भन्ने लगायतका सीपकला प्रदर्शन गरिएको पाएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २९ असोज २०८२ , बुधबार
प्रतिक्रिया