मंगलबार, जेठ १९, २०८३

कसले भन्यो रुकुमेली जनता भेडा हुन भनेर ?

अब अल्छी भएर सुतिरहनु हुँदैन । अब त ब्यूँझौँ ।


सपना पुनमगर

प्रसंग केही वर्षअघिको थियो । एक जना नेता, जो रुकुमबाटै चुनाव लड्दै हुनुहुन्थ्यो । अनि चुनावी मिति नजिकिँदै गर्दा प्रचार–प्रसार गर्न जाने क्रममा उहाँले एउटा बोरा भरी पैसा झिकेर आफ्ना कार्यकर्तालाई गाडीमा राख्न सुरु गर्दै गर्दा कार्यकर्ताको मनमा प्रश्न उठेछ । उहाँले सोध्नुभयो, ‘यति धेरै पैसा किन ल्याउँदै हुनुहुन्छ र किन चाहियो यति धेरै पैसा ?’ उहाँको प्रश्न थियो । अनि नेताको उत्तर थियो, ‘चुप लाग, तिमी धेरै प्रश्न नगर । म चुनावका लागि रुकुममा भेडा किन्न जाँदै छु, त्यसैले मलाई यति धेरै पैसा चाहिन्छ,’ भनेर भन्नु भएछ ।

यो उत्तर केवल एउटा व्यक्तिको सोच होइन, यो आजको राजनीतिमा गहिरोसँग गाडिएको मानसिकताको झल्को हो । जबसम्म जनता आफैं सचेत हुँदैनन्, तबसम्म हामीलाई भेडा नै ठान्नेहरू सत्तामा पुगिरहनेछन् । अब प्रश्न सोध्ने, सोच्ने र सही निर्णय गर्ने समय आएको छ । खबरदार अहिले पनि नेताहरुको यहि सोच छ र यहि सोच बोकेर राजनीति गर्दै हुनुहुन्छ भने अनि जनता पनि सचेत रहौँ किनभने ति नेताहरुले बाड्ने पैसा भनेको उनिहरुले छुट्टै कमायर जमायको पैसा होइन । त्यो हाम्रै पैसा हो जनताकै करबाट उठेको पैसा हो यिनिहरुले हामीलाइ यसो दक्षिणा दिए जस्तो गर्छन आफुले नजितुन्जे अनि जितेपछि साहँु ब्याज सहित असुल गर्छन ।

यदि त्यो पैसा असुल गर्न सकेनन भनेपनि छिमेकी बाट ऋण कारेरै भएपनि हाम्रो टाउकोमा ऋणको भारी बोकाइदिन्छन् । अहिले सम्म भएको यथार्थ यहि होइन र ? हामी रुकुमेली मात्र होइन प्रत्येक नेपालीको टाउकोमा प्रतिब्यक्ति ९१ हजार ७ सय रुपैयाँ ऋण थुपारिदिएका छन् । सत्य कुरा यहि हो तर पनि हामी किन भ्रम मा परिरहन्छाँै र लोभ लालच गर्छाैँ जसको फाइदा नेताहरुलाई दिन्छौ । अनि हामी आफु पनि बिग्रिरहेका छौँ । र देशलाई पनि विग्रीरहेका छौँ । फेरि पनि भन्न चाहन्छु सचेत रहौँ ।

मागेको रोटीले हाम्रो पेट भरिँदैन, मागेको धोतीले हाम्रो लाज छोपिँदैन । हामी गरिब होइनौँ । हामीसँग स्वर्गजस्तै देश छ, पुर्खाले आर्जेको सम्पत्ति छ, पुर्खाले जोगाएर राखेको संस्कृति छ, र सुन्दर प्रकृति छ । यदि शरीर स्वस्थ छ भने, कर्म गर्ने हात छन्, सुधार गर्ने दिमाग छन् । त्यसैले अब अल्छी भएर सुतिरहनु हुँदैन । अब त ब्यूँझौँ ।

किनकि सपना ब्यूँझेपछि मात्रै पूरा हुन्छ । हिजोको क्रान्तिको लाली रुकुमबाटै सुरुवात भएर देशभरी फैलिएको थियो । परिस्थितिको दबाबले त्यो आन्दोलन पछि जनयुद्धमा परिणत भयो । जसको परिणामस्वरूप जनधनको ठूलो क्षति भयो । त्यतिखेरको जनयुद्ध अधिनायकवादको विरुद्धमा थियो । जसबाट जनतालाई न्याय, समानता र स्वतन्त्रता दिलाउनु थियो । तर त्यो कठिन समयलाई केही अज्ञानी र स्वार्थी व्यक्तिहरूले आफ्नै फाइदाका लागि प्रयोग गरे । उनीहरूले कम्युनिस्टको खोल ओढे, तर व्यवहारमा व्यक्तिगत स्वार्थ पूरा गरे, रिसीबीको बदला लिए । र आन्दोलनको मूल मर्मलाई नै धोका दिए जसको दुष्प्रभावले देशको निम्ति सहि कर्म गर्नेहरुको बलिदानलाई पनि ओझेलमा परिदिए ।

सिद्धान्त त सुरुदेखि नै स्पष्ट थियो—सही कर्म सही तरिकाले हुनुपर्छ । तर दुःखको कुरा, केहीले यही सही सिद्धान्तको खोलभित्र लुकेर गलत काम गरिरहे । जसले आन्दोलनलाई मात्र होइन, देशलाई नै गहिरो घाउ दियो । म फेरि रुकुम र रुकुमेली जनताको कुरा गर्न चाहन्छु । विशेषगरी पूर्वी रुकुम भनेको स्वर्गको देशको एक विशेष ठाउँ हो । यहाँ आज पनि धेरै मौलिक र परम्परागत कुराहरू महसुस गर्न सकिन्छ । यहाँको प्रकृति अत्यन्तै सुन्दर छ । नमरी स्वर्ग हेर्न मन छ भने, कृष्ण जन्मेको महिना देखि लक्ष्मी पैदा भएको महिना सम्म यहाँ बस्नुहोस्—स्वर्ग यहीँ देखिन्छ ।

यो सुन्दर ठाउँका मानिसहरू पनि निकै ज्ञानी छन् । उनीहरू आफ्नो गाँस, बास र कपासको जोहो आफैं गर्न जान्छन् । धेरै आत्मनिर्भर छन् । यहाँका जनतालाई कुनै नाकाबन्दी भए पनि खासै फरक पर्दैन । किनभने उनीहरूले गासका लागि जमिन बाँझो राख्दैनन् । खेतीपाती गर्छन् । पशुपालन गर्छन् । र त्यसबाट निस्कने मलमूत्रलाई मलको रूपमा प्रयोग गर्छन् । यहाँ कुनै विषादीको प्रयोग हुँदैन ।

बस्नका लागि घर पनि उनीहरूले आफैं बनाउँछन्। ती घरहरूमा न त सिमेन्टको प्रयोग हुन्छ, न त रड लगायत आधुनिक नक्कली सामानको । उनीहरूले प्रकृतिबाटै सबै कुरा लिन्छन्—काठ, ढुंगा, माटो र कमेरो । काठले रडको काम गर्छ, ढुंगाले इँटाको काम गर्छ, माटोले गारो लगाइन्छ, अनि कमेरोले ढलान गरिन्छ, जसले सिमेन्टजस्तै काम गर्छ । यस्ता घरहरू निकै मजबुत हुन्छन् । कपासको लागि यहाँका मानिसहरूले आफ्नै पशुहरूको ऊन निकाल्छन् । त्यसलाई चरखामा प्रशोधन गर्छन् । र विभिन्न प्रकारका कपडाहरू तयार गर्छन्। जस्तै—टोपी, पटुका कोट, कछरा, झोला, कम्बल आदि जस्ता सामग्रीहरूको निर्माण आफैं गर्छन् । यसले रुकुमेली जनताको आत्मनिर्भरता, मेहनत र परम्परागत सीपलाई स्पष्ट रूपमा देखाउँछ ।

हिजोका दिनमा छेपारोले जस्तै रंग फेर्ने नेतृत्व गर्ने व्यक्ति थिए । जनता थिएनन् । जनता सधैं सहि सिद्धान्तमा अडिग हुन जरुरी छ—देशको स्वाभिमानको लागि अनि आफ्नो आत्मसम्मानको लागि । यस्ता आत्मनिर्भर, श्रमसंस्कृतिको रक्षा गर्ने, आफ्नो जन्मभूमिलाई माया गर्ने, प्रकृतिलाई नबिग्री नेपाल अरु जस्तो होइन नेपाल, नेपाल जस्तै हुनुपर्छ भन्ने मानिसहरूलाई ‘भेडा’ सोच्ने नेताहरू नै वास्तवमा भेडा सोचका थिए । र आफ्नो स्वविवेक प्रयोग नगरी नेताले जे भन्यो त्यही सही मान्ने मानिसहरू पनि भेडा नै थिए भन्नु गलत हुँदैन । किनभने सचेत नागरिक भनेको प्रश्न गर्ने, सोच्ने र सही–गलत छुट्याउने हो—आँखा चिम्लेर पछि लाग्ने होइन् ।

प्रकाशित मिति : ११ फागुन २०८२ , सोमबार
प्रतिक्रिया